टेलिकमको फोरजी मंसिरबाट
•काठमाडौं र पोखराबाट सेवा सुरु •३० एमबीपीएस गतिको इन्टरनेट •महसुलको टुंगो लाग्न बाँकी •पुरानै ब्यान्डको ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग



कार्तिक १, २०७३- नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ ।
टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘योजनामा मंसिर ३० बाट सेवा सुरु गर्ने उल्लेख छ ।’
टेलिकमले फोरजी सेवामा इन्टरेटको गति ३० मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) चलाउन सकिने प्रस्ताव गरेको छ । ‘फोरजीमा उच्च गतिको इन्टरनेट सुविधा हुनेछ,’ टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘हामीले कार्ययोजनामा कम्तीमा ३० एमबीपीएस गतिको डाटा दिने उल्लेख गरेका छौं ।’ उनले कार्ययोजनामा तोकिएको समयभित्रै सेवा सुरु गर्न तयारी थालिसकेको जानकारी दिइन् ।
प्राविधिकहरूका अनुसार टेलिकमले हाल रहेकै पूर्वाधारमा केही ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ थप गरी फोरजी सेवा चलाउन सक्नेछ । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको कम्पनीका अधिकारीहरूले बताउँदै आएका छन् । टेलिकमले पेस गरेको कार्ययोजनाअनुसार १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा हाल उसले पाएको १५ मेगाहर्ज फ्रिक्वेन्सीमध्ये ५ मेगाहर्जलाई फोरजीका लागि उपयोग गर्ने प्रस्ताव गरिएको छ । बाँकी रहेको फ्रिक्वेन्सी भने हाल चलिरेहको दोस्रो पुस्ताको (टुजी) सेवाकै लागि उपयोग गरिनेछ ।
टेलिकमले फोरजी सेवाको गाति योजनामा उल्लेख गरे पनि मूल्यका लागि भने प्रस्ताव पेस गरिसकेको छैन । ‘मूल्य कति तोक्ने भन्ने विषयमा हामीले आन्तरिक तयारी गरिरहेका छौं,’ प्रवक्ता वैद्यले भनिन्, ‘प्राधिकरणले कार्ययोजना स्वीकृत गर्ने बित्तिकै पेस गर्नेछौं ।’
कम्पनीले गत असोज १६ गते प्राधिकरणबाट पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा फोरजी सेवा सञ्चालनको अनुमति पाएको थियो । टेलिकमसँगै फोरजीका लागि निवेदन दिएका निजी क्षेत्रका एनसेल र स्मार्ट टेलिकमलमे भने अनुमति पाएका छैनन् । एनसेलको कर विवाद कायमै रहेको र स्मार्टको पूर्वाधार तथा सेवाका विषयमा विश्वस्त हुने आधार नभएकाले अनुमति नदिइएको प्राधिकरणका अधिकारीले बताउँदै आएका छन् ।
करिब तीन महिनाअघि संशोधित दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति– २०७३ ले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार टेलिकमलाई प्राधिकरणले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति दिएको हो ।
प्राधिकरणले फोरजीको अनुमति दिँदा एक साताभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार टेलिकमले कार्ययोजना पेस गरेको हो । नीतिअनुसार प्राधिकरणले सर्त र समयसीमा तोकेर कार्ययोजना माग गरेको हो । कार्ययोजना स्वीकृत भएपछि मात्र टेलिकमले फोरजी सेवा सुरु गर्न पाउनेछ । ‘हामी अहिले कार्ययोजनाको अध्ययन गरिरहेका छौं,’ प्राधिकरण प्रवक्ता अर्यालले भने, ‘अध्ययनपछि उसले स्वीकृति पाउनेछ ।’
नेपालमा हालसम्म फोरजी सेवा सुरु भएको छैन । हालै मात्र टेलिकमले ७५ वटै जिल्लामा थ्रिजी सेवा भने पुर्याएको छ । चौथो पुस्ताको ताररहित सेवालाई फोरजी भनिन्छ । यसलाई मोबाइल ब्रोडब्यान्ड सेवा मानिन्छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को मापदण्डअनुसार मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रतिसेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ । तर, टेलिकमले भने हाल ३० एमबीपीएसको प्रस्ताव गरेको छ । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरूले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबीपीएस) गतिलाई फोरजीको वर्गमा राखेका छन्



# If u like our post then don't forget to Like & share...





Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav