इराकमा इस्लामिक स्टेटका लडाकुले दुर्गम पश्चिमी नगर रुत्बामाथि आक्रमण शुरु गरेका छन्, जुन मोसुलको भिडन्तबाट ध्यान हटाउने उनीहरुको पछिल्लो प्रयास जस्तो देखिएको छ।
रुत्बाका मेयरले तीन तर्फबाट उक्त नगरमा भएको आक्रमणलाई ‘भीषण’ भनेका छन्।
सुरक्षा फौजले नियन्त्रण कायम राख्ने प्रयास गर्दा थुप्रै प्रहरीले ज्यान गुमाएका छन्।
मोसुल भित्र र वरिपरी आइएसमाथि दवाव बढिरहँदा उक्त समूहले आत्मघाती आक्रमणद्वारा प्रत्याक्रमणओ गरिरहेको छ र अरु क्षेत्रमा हमला गरिरहेको छ।

आइएसको आक्रमण

रुत्बाका मेयर इमाद अल -दुलाइमीका अनुसार ती लडाकुले नगरभित्र रहेका आइएसका गोप्य सदस्यहरुको सहयोगले नगरभित्र प्रवेश गरेका थिए।
सन् २०१४ देखि आइएसको नियन्त्रणमा रहेको उक्त नगर ४ महिनाअघि सरकारले फिर्ता लिएको थियो।
शुक्रबार आइएसले मोसुलभन्दा १७० किलोमिटर दक्षिणपूर्वमा रहेको किर्कुक नगरमाथि आक्रमण गरेका थिए।
कम्तिमा ४६ जना मारिएका थिए र थुप्रै अरु घाइते भएका थिए।

'खतरनाक'

प्रमुख तेल उत्पादन केन्द्र किर्कुकमाथि कर्फ्यु लगाईएको छ र आइतबार पनि त्यहाँ छिटपुट भिडन्त भएको बताइएको छ।
रुत्बामाथिको हमलाले मोसलमा जारी आक्रमणलाई केही फरक पारेको छैन तर त्यो आक्रमणले इराकमा आइएस अझै कति खतरनाक छ भन्ने कुराको प्रमाण दिएको बीबीसीसका मध्यपूर्व विश्लेषक सेबास्टियन अशर बताउँछन्।
त्यसैबीच कुर्द पेश्मेर्गा लडाकुले आइएसको कब्जामा रहेको मोसुल नगरको उत्तर पश्चिममा आक्रमण थालेका छन्।
आईतबार बिहान कुर्द लडाकुहरुले बाशिका नगर नजिकैका आइएसका अखडामाथि नयाँ आक्रमण गरेको बताएका छन्।

विस्थापित

इराकी कुर्द क्षेत्रका राष्ट्रपति मसूद बर्जानीसँगको वार्तामा अमेरिकी विदेशमन्त्री एश कार्टरले कुर्द पेश्मेर्गा लडाकुलाई अति सक्षम र आवश्यक भन्दै प्रशंसा गरेका छन्।
आइएसका लडाकुलाई इराकी शहर मोसुलबाट हटाउनका लागि भिडन्त जारी रहँदा आफ्नो सेना निष्क्रिय रहन नसक्ने टर्कीले बताएको छ।
तर इराकी प्रधानमन्त्री हैदर अल- अबादीले अहिले नै टर्कीका फौजको आवश्यकता नभएको अमेरिकालाई बताएका छन्।
मोसल नजिकै भईरहेको पछिल्लो भिडन्तका कारण ५ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ।
आगामी केही हप्तामा थप २ लाख मानिस विस्थापित हुने राष्ट्रसंघको अनुमान छ।


Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav