भारतबाट कोरोना नेपाल भित्रिने सम्भावना, जमातमा सप्तरीकै बढी सहभागी रहेको आशंका

राजविराज, १८ चैत्र भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ६ जना भन्दा बढी सप्तरीको राजविराज नगरपालिकाकै रहेको खुलेको छ ।
मरकजमा विश्वका १५ देशका सहभागी करिब १ हजार ७ सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ । श्रोतका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये राजविराज नगरपालिका वडा नम्वर–६ का एक जना, वडा नम्वर ३ महम्मदपुरका दुई जना, वडा नम्वर १ का एक जना लगायतका छन् ।

सिमा नाका पूर्ण रुपमा सिल गरेपछि खुल्ला सिमानाका कारण उनीहरु रातीको समयमा प्रहरीलाई छलेर सोमवार राती राजविराज आईपुगेका छन् । मरकजबाट सहभागी भई घर फर्केका उनीहरु आफ्नै घरमा गोप्य रुपमा बस्दैआएको श्रोतको दाबी छ । यद्यपी वडा नम्वर ३ का अध्यक्ष मो.अख्तरले आफ्नो वडाबाट जमातमा ६ जना सहभागी भएको स्वीकार गर्दै उनीहरु सुनसरी जिल्लातर्फ रहेको आफुले जानकारी पाएको बताए । उनीहरु हाल कुन ठाउँमा छन् ? भनी प्रश्न गर्दा सम्पर्क बाहिर रहेकोले सम्पर्कमा आए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा लगिने दावी गरे ।
यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बाट समेत भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा चार जना सहभागी भएको वडा अध्यक्ष मो. इब्राहिमले स्वीकार गरेका छन् । यद्यपी उनीहरु हालसम्म घर नफर्केको जानकारी दिँदै उनले भने ‘उनीहरु विहारको कुनै सुरक्षित स्थानमा रहेको भनी पारिवारिक श्रोतबाट मैले जानकारी पाएको छु, घर फर्किए लगत्तै उनीहरुलाई स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्नेछु ।
यसबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आफुले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै उनीहरु उच्च जोखिममा रहेकाले खोजी भईरहेको भन्दै आफै स्वस्फूर्त रुपमा क्वारेन्टाइनमा आएर बस्न आग्रह गरे ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले उक्त विषयमा आफुहरुलाई प्राप्त सूचनाको आधारमा नगरपालिकाका मेयर, वडा अध्यक्षहरु मार्फत खोजी कार्य भईरहेको बताए ।
यसैबीच राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले जमातमा सहभागी भएकाहरुमध्ये पाँच–छ जना राजविराजकै रहेको सूचना आए लगत्तै सोधखोज भईरहे पनि सम्भावित भनिएका व्यक्तिहरु आफुहरुको सम्पर्कमा नआएको जानकारी दिए ।
यसैगरी सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट समेत केही व्यक्तिहरु जमातमा गएको बताईए पनि पुष्टि भने हुन सकेको छैन ।
जमातकालागि कहिले प्रस्थान गरे ?
सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा इस्लामिक सम्मेलन ‘इज्तिमा’ फागुन ३ गतेदेखि सुरु भएको थियो । फागुन ५ गतेसम्म चलेको इज्तिमामा नेपाल तथा भारतका करिब तीन लाख भन्दा बढी मुस्लिम समुदायका अगुवाहरु सहभागी भएका थिए । उक्त इज्तिमा’मा भारतको नयाँ दिल्लीका प्रख्यात धर्मगुरु मौलाना साद साहाब लगायतका धर्मगुरुहरुबाट प्रवचन वाचन गरिएको थियो । सम्मेलनको अन्तिम दिन अर्थात फागुन ५ गते प्रार्थाना सकिए पछि सप्तरीबाट मुस्लिम अगुवाहरुको समूह भारतको दिल्ली प्रस्थान गरेको जनाईएको छ ।
के भएको हो भारतको निजामुद्दिनमा ?
भारत दिल्लीको निजामुद्दीन स्थित मरकज(धार्मिक सम्मेलन हुने ठाउँ)मा जमात आयोजना गरिएको थियो । दिल्लीका स्वास्थ्य मन्त्री सतेन्दर जैनका अनुसार सम्मेलनमा वास्तविक संख्या यकिन हुन नसके पनि विश्वका १५ देशका एक हजार पाँच सयदेखि एक हजार सात सयको हाराहारीमा मुस्लिम समुदायका अगुवाहरु सहभागी भएका थिए । ईन्डोनेसिया, मलेसिया, श्रीलङ्का सहित देशका नागरिक सहभागी रहेको खुलेको छ । सहभागीहरुमध्ये सबभन्दा बढी अर्थात इन्डोनेशियाबाट करिब ८ सय व्यक्ति सहभागी थिए । हालसम्म एक हजार ३३ जनालाई बाहिर निकालिएको छ । तीमध्ये २४ जनामा कोरोना भाइरस पोजिटिभ पाईएको छ ।
भारतीय सञ्चारमाध्यममा मन्त्री जैनले दिएको जानकारी अनुसार जमातमा आएकाहरुमध्ये सात सय जनालाई क्वारेन्टाइन सेन्टर पठाईएको छ भने तीन सय ३४ जनालाई अस्पताल पठाईएको छ ।
जमातमा सहभागी ९ जनाको मृत्यु
निजामुद्दीन स्थित मरकज जमातमा सहभागी भएका ९ जनाको कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएको छ । मृत्यु हुनेहरु तेलङ्गानादेखि जम्मु कश्मीरसम्मका व्यक्तिहरु रहेका छन् । कोरोनाबाट ९ जनाको मृत्यु भएपछि सिङ्गो भारत त्रसित भएको छ । प्रदेशहरुमा यतिबेला हाई एलर्ट जारी गरिएको छ भने जमातमा सहभागी भएका व्यक्तिहरुको खोजी कार्यलाई तीब्र रुपमा अगाडि बढाईएको छ ।
आफै क्वारेन्टाइनमा जान पूर्वमन्त्रीको आग्रह
पूर्व सिंचाई मन्त्री एवम् संविधान सभा सदस्य उमेश कुमार यादवले भारतको दिल्लीमा आयोजित जमातमा सहभागी घर फर्किएकाहरुलाई आफै क्वारेन्टाइनमा जान आग्रह गरेका छन् । उनले मङ्गलवार राती करिब ८ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले फेसबुकमा यस्तो लेखेका छन्ः
दिल्लीबाट धार्मिक यात्रा गरि फर्किनु भएका महोदयगण !
कृप्या क्वारेन्टाइनमा गई बसिदिनुस् । अहिलेकोलागि तपाई आफ्नो सहित परिवार, समाज, देशकोलागि यहीँ ठूलो धर्म हुनेछ । अन्यथा ठुलो अपराध हुन जानेछ ।
सम्वन्धित स्थानीय तहका जनप्रतिनिधि, उहाँको परिवारजन, पडोसी (छिमेकी), सम्वन्धित धार्मिक समुदायको अगुवा र संघ सङ्गठनले दबाब सृजना गर्नु पर्यो । रिसाउँछ भनेर अहिलेको संवेदनशिलतालाई उपेक्षा नगरौं ।
सप्तरीको राजविराज लगायत ग्रामिण क्षेत्रमा धार्मिक अगुवाहरु आउनु भएको चर्चा व्यापक छ । सुरक्षा निकायलाई दोष देखाएर हामी हाम्रो कमजोरीलाई ढाकछोप कोही न गरौं ।
तस्विर सौजन्यः आजतक÷भारत



Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav